यो रजस्वलाको सत्य

रजस्वलाको बखत 

मेरो योनि बाट रातो रगत बग्छ

त्यो त्यै रातो रगत हो 

जुन मेरो नशा नशामा पनि बग्छ

नशा मेरै , रगत मेरै , योनि मेरै 

तर किन मलाई हेर्ने नजर अरूको ।।

 

मेरो शरीरमा चोट पटक लाग्दा

यित्ती रगत बगेको देखेर

ला ! रगत बगेर गयो भन्दै

चिन्तित हुने आफ्नाहरु 

मेरो मासिक धर्मको बेला

जति नै धेरै रगत बग्दा पनि 

म जति नै कमजोर हुँदा पनि 

जति नै दर्दमा छट्पटाइरहे पनि

भन्छौ

लौ न त्यो त पन्छिएकि छे 

धत् त्यो त पर सरेकी छे ।।

 

तिमीलाई म के भनौं !

मलाई पन्छिएको भन्छौ 

झनै माया चाहिएको बेला 

माया दिनबाट तिमी आफू 

पन्छिएको थाहा छैन ।।

 

तिमीसँग म के बोलूँ !

मलाई पर सरेको भन्छौ

झनै ख्याल चाहिएको बेला 

जिम्मेवारीबाट तिमी आफू

पर सरेको थाहा छैन ।।

 

त्यसैले

तिमीले बुझ्नुपर्छ

यो सत्य

यो रजस्वला 

यो मासिक धर्म हो 

मेरो सृष्टि शक्ति हो 

म नारी 

न त पन्छिएको हूँ

न त पर सरेको हूँ

न त नछुने भएको हूँ

पन्छिएको तिम्रो माया हौ 

पर सरेको तिम्रो जिम्मेवारी हो 

नछुने भएको तिम्रो सोच हो ।।